अधुरो उत्तर
हाम्रो भेटको कारण जान्न चाहन्थ्यौ ,हाम्रो कथाको परिभाषा सोधेको थियौ ,हुनुको अर्थ जान्न चाहन्थ्यौ,
म बाट, यहाँ हुनुको अर्थ जान्न चाहन्थ्यौ
सजिलो थिएन उत्तर
सजिलो छैन उत्तर ।
जतिबेला केही भन्छु भनेर
उल्झिएका प्रश्न खोल्नलाई
म तिमी तिर फर्केर
तिम्रो नाम बोलाउँदा
तिमी धेरै टाढा पुगेको आभाष हुदैँ छ
हाम्रो दुरता चिच्चाएर,
झकझकाएर
उठाउँदै छ ।
उत्तर, तिम्रो परेलीले छोपेको काजलले बोकेको छ
उत्तर, तिम्रो सौम्य बानीले बोकेको छ
उत्तर, फाल्गुनको असिनामा लुकेको छ
जतिबेला म छाताबाहिरको आफूलाई देखेको थिए ,
यहि बताउन म यहिँ बस्ने छु,
तिमी आउछ्यौ जस्तो लागे पक्कै पर्खने छु ,
नआउने जस्तो लागे उमेरसँगै फर्कने छु ।
उत्तर , अधुरो छ,
अधुरोपनमा उत्तर छ,
उत्तर, रातको आकाशमा छ
उत्तर, दिउँसोको बतासमा मिसिएको बर्षा अनि प्रकाशमा छ
उत्तर, हामीले कोरेको कहानीको वशमा छ,
उत्तर, पर्खनुको मिठासमा छ
त्यसैले तिमीलाई मेरो अधुरो उत्तर सुनाउन,
तिमी आउछ्यौ जस्तो लागे पक्कै पर्खने छु ,
नआउने जस्तो लागे उमेरसँगै फर्कने छु ।
0 Comments